Need Help ?
Call: +977- 069440105

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय मुस्ताङमा स्वागत छ !!!

जिल्ला परिचय

          पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलमा पर्ने मुस्ताङ जिल्ला एक दुर्गम हिमाली जिल्लाको रुपमा परिचित छ। २८⁰ २०' देखी २९⁰ ०५' उत्तरी अक्षांस र ८३⁰ ३०' देखी ८४⁰ १५' पूर्बी देशान्तर विचमा अवस्थित यो जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ भने पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला र दक्षिणमा म्याग्दी जिल्ला रहेका छन । धौलागिरी र अन्नपूर्ण जस्ता बिशाल हिमशृङ्खला भन्दा उत्तरतर्फ रहेकाले हिमालपारीको जिल्लाको नामले परिचित यो जिल्ला समुन्द्री सतहबाट २००० मीटर देखि ८१६७ मीटर उचाइमा रहेको छ । नेपालकै सबभन्दा कम पानी पर्ने जिल्लाको रुपमा परिचित यस जिल्लामा हिउँद याममा हिमपातका कारण अत्याधिक ठण्डी भई जनजीवन कष्टकर हुन पुग्छ भने गृष्मयाममा हिउपग्ली न्यानो हुनुका साथै हरियाली  हुन्छ । यस अवधिमा जाडो छल्न अन्यत्र गएका मानिससमेत फर्कने हुदा रमाईलो वातावरण कायम हुन्छ । २०६८ सालमा लिइएको पछिल्लो जनगणना अनुसार १३,४५२ मात्र जनसङ्ख्या रहेको यस जिल्लालाई एक निर्वाचन क्षेत्र, नौ इलाका एबं सोह्र गा.बि.स. हरुमा विभाजन गरिएको छ। जिल्लाको बिचबाट पवित्र कालिगण्डकी नदी उत्तरबाट दक्षिणतर्फ प्रवाहित छ भने जिल्ला सदरमुकाम जोमसोम लगायत अन्य प्रायजसो बस्तीहरु पनि यसै नदी र यस्‌का शाखा नदी किनार वरिपरि अवस्थित छन् । प्राकृतिक तथा सांस्कृतिक दुवै रुपमा विशिष्टता बोकेको यस जिल्लामा मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड जस्ता पबित्र धार्मिक स्थल तथा विश्वमै प्रख्यात अन्नपूर्ण पैदल मार्ग र प्रसिद्ध लोमाङथाङ क्षेत्र रहनुले पनि यस्‌को धार्मिक एबं पर्यटकीय महत्व झल्काउँछ । मुस्ताङको उपल्लो भेगमा गुरुङ (लोवा) तथा तल्लो भेगमा थकाली जातीको बाहुल्यता रहेको छ। यहाँका मुख्य चाडपर्वहरुमा फागू- पूर्णिमा, ल्होसार, तिजी प्रमुख रहेका छन् भने प्रमुख पेसाहरुमा पशुपालन, कृषि तथा फलफूल र पर्यटन रहेका छन्। शैक्षिक दृष्टिले पनि मुस्ताङ देशमै एक अग्रणी जिल्लाको रुपमा स्थापित हुन पुगेको छ। साक्षरताको स्थिति उच्च रहनु, प्राथमिक उमेर समुहका सबै बालबालिकाका लागि शैक्षिक सुनिश्चितताको घोषणा हुनु, प्रवेशिका परीक्षामा देशमै उत्कृष्ट नतिजा ल्याउन सफल हुनु जस्ता मूख्य बिशेषता बोकेको यस जिल्लामा ५ ओटा स्रोतकेन्द्र, बिभिन्न तहका कूल ५८ ओटा सामुदायिक विद्यालय, ‌११ओटा गुम्बा विद्यालय, ४ ओटा संस्थागत विद्यालय, एक क्याम्पस र एक प्राबिधिक शिक्षालय रहेका छन् ।